काठमाडौं । गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।
यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रूपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे नै अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । तर, उनी आउने सुइँको कर्मचारीहरूले पाएका थिएनन् ।
यात्रुको चेकजाँच हुने क्षेत्रको निरीक्षण गरेका गृह सचिव अर्यालले अध्यागमनमा डेस्क थप्ने लगायत भिआइपी कक्ष, सिसी क्यामरा, कर्मचारीहरूको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका छन् ।
आकस्मिक निरीक्षणमा पुगेका गृह सचिव अर्यालले विमानस्थलस्थित डिउटीमा खटिएका अध्यागमन अधिकृतहरूसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि ? भनेर सोधेका थिए । उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउन भने । गृह सचिव अर्यालले जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कन्ज्यूस्याई नगर्न कर्मचारीलाई भनेका छन् ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका डिउटी अधिकृतहरूसँग पनि उनले कुराकानी गरे । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चाँसो राखेका गृह सचिव अर्यालले डिउटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा अन दि स्पट नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।
यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरू बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिव अर्यालले देखिएका स–साना समस्याहरू समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।
नेपाल प्रहरी प्रमुख आइजिपी वसन्त बहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृह सचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नर बहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् ।