बलिष्ठ हात खुट्टाहरूले भरि भराउ सभामा
सरकार तिमीले मेरो जिउँदो शरीरलाई
मृत घोषणा गरि दिए पछि
म जिउदै छु भन्ने प्रमाण पेश गर्नकै लागि
यतिखेर यो शान्ति बाटिकामा
म स शरीर
तिम्रो सामु उपस्थित भएको छु।
एक थान अधिकारका दस्तावेजलाई
हातमा लिएर
कैले व्हिइल चिएरसँग गुड्दै गुड्दै
कैले सेतो छडी टेक्दै टेक्दै
कैले बैसाखी टेक्दै
कैले क्यालिफरले बनाएको चोटसँगै
कैले हातले संकेत गर्दै
कैले अभिभावकको सहारामा
सरकार तिमीलाई खोज्न
पटक पटक म यसरी नै उपस्थित भएको छु
र भै रहने नै छु।
यति खेर शान्ति बाटिकाको एउटा कुनामा
लडिरहेको यो शरीर
र अर्को कुनामा उभिरहेका सेता छडिहरू
अझै पनि थाकेका छैनन्
गलेका छैनन्
र एउटै प्रश्न छ?
बलियाहरूको यो राज्यमा
पटक पटक अपहरणमा पारिएका
अपाङ्गता भएका व्यक्तिहरूको
अधिकारका दस्तावेजलाई
कार्यान्वयन गराउनकै लागि
हाम्रा शरीरले
आत्मदाह नै गर्नु पर्ने हो र सरकार ?
रुपा थापा