रविन्द्र मिश्र
मेरी मायालु अस्थिर मौसम जस्तै छिन्:
बिहानीको उनको मुस्कानमा
दिन ढल्दै जाँदा बादल लाग्छ
र त्यो गर्जन भएर अस्ताउँछ
बर्षौं बितिसक्दा पनि
मैले उनको ‘गाम्भीर्य’लाई बुझ्न सकेको छैन
जसले अनायसै विष्फोट भएर
समुद्रको छालले जस्तै मलाई लछार्दछ
त्यो फेरी मत्थर हुन्छ
मन्द बतासजस्तै
मेरो केशलाई सुमसुम्याउँदै
रसाउँछ आँखाबाट माया
विगतलाई विस्मृति तुल्याउँदै
वर्तमान उनको आलिंगनमा बाँधिएको छ
भविष्यलाई निर्देश गर्दै
म उनीबाट टाडा हुनै सक्दिन
म उनका रंगहरूको दास भएको छु!