काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रको जग्गाको सरकारी मूल्यांकन तोकेको छ ।
गत सोमबार बसेको महानगरपालिका नगरसभा बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा काठमाडौं जिल्लाको विभिन्न १७८ वटा स्थानको जग्गाको सरकारी मूल्यांकन कायम गरेको हो ।
महानगरले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको मूल्य प्रतिआना न्युनतम ४ लाख रुपैयाँदेखि ५० लाखसम्म तोकेको छ । जसअनुसार सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य प्रतिआना ५० लाख तोकिएको छ भने सडकले नछोएको रिङरोडभन्दा बाहिरका स्थानको जग्गको मूल्य प्रतिआना न्युनतम ४ लाखसम्म तोकेको छ ।
यसैगरी, महानगरपालिकाले मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ (रिङरोड) तीनकुने, गैह्रीगाउँ, सिनामंगल, तिलगंगा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ ।
त्यस्तै, पूतलीसडक, बागबजार हुँदै रत्नपार्क सम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरु, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरुको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको छ ।
महानगरपालिकाले महानगर क्षेत्रभित्रको सिंहदरवार, पुतलीसडक लगायत प्राइम एरियाको जग्गाको सरकारी मूल्यांकन तोकेता पनि सो क्षेत्र वरपर प्रतिआना करोडको हाराहारीमा जग्गा खरिदबिक्री भइरहेको छ ।

