काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १९.३ प्रतिशतले वृद्धि भएको हो ।
जेठ एक महिनामा मात्रै एक खर्ब २८ अर्ब ९० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो । यो वैशाखमा भित्रिएको भन्दा करिब १३ अर्ब रूपैयाँले धेरै हो ।
उक्त अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

