काठमाडौं । बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेर २ हजार ७६६.३८ विन्दुमा आइपुगेको छ । दिनभरी नेप्से सूचकमा उत्तारचढाव भएको थियो । यो दिन बजारमा दबाबको अवस्था सृजना भएता पनि लगानीकर्ता बीच शेयर खरिद गर्ने र बिक्री गर्ने प्रतिस्पर्धा पनि निक्कै समयसम्म चलिरह्यो । जसका कारण अन्तिम कारोबार समयमा आएर भने नेप्से सूचक सामान्य बढेर बन्द भएको हो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले बढेर ४८३.६८ विन्दुमा पुगेको छ ।यो दिन ३२२ वटा कम्पनीको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २० अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन भने बजार १०८.३५ अंकले बढेको थियो भने १७ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ठूलो अंकले बजार बढ्दा आज पनि बजारमा करेक्सन आउन सक्ने लगानीकर्ताहरुको विश्लेषण पनि थियो । यद्यपी बजार बढेर बन्द भएको छ ।
यो दिन सामान्य बढेको बजारमा सात ओटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट,घोराही सिमेन्ट,मिडसोलु हाइड्रोपावर कम्पनी, सोनापूर मिनरल्स एण्ड आयल्स,सर्वोत्तम सिमेन्ट,कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सामान्य बजार बढ्दा एनआएएन इन्फाष्ट्रचर डेभलपमेन्ट, सानिमा बैंकको डिबेन्चर,एलएलबी डिबेन्चरको ५.८७ प्रतिशतदेखि ८.०४ प्रतिशतले मूल्य घटेको छ ।

