काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ प्रदान गरिएको छ ।
शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४’ अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
तामाङको यस गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकाल हो । उनी नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत हुन् । तामाङको जन्म रसुवा जिल्लाको साबिक हाकु गाविसमा २०४४ साल– पुस ५ गतेको दिन भएको हो । रसुवा मा.वि धुन्चेबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेका उनले रसुवास्थित कालिका हिमालय क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकसम्मको अध्ययन पुरा गरेका छन् ।
साठीको दशकको शुरुवाती कालमा माओवादीको लडाकु कमाण्डर बनेका बुचुङ २०६२÷ २०६३ को जनआन्दोलन पस्चात भने पूर्णतया सकृय राजनीतिमा आएका हुन् ।
पहिलो कार्यकालमा नयाँ शक्ति पार्टीबाट एक मात्र निर्वाचित पालिका प्रमुख बनेका उनी पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । ३० वर्ष पुग्दा नपुग्दै युवा कालमै स्थानीय तह प्रमुखमा निर्वाचित भइ सरकार प्रमुख जस्तो गहन जिम्मेवारी प्राप्त गरेका बुचुङको छवि एक भिजनरी नेताको रहेको छ ।