काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाइने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योग बन्द गरेर नभई उद्योग चलाएर बक्यौता उठाइने बताएका हुन् । ‘बक्यौता उठाइन्छ, छोडिँदैन । तर, उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ,’ उनले भने, ‘विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’
प्रधानमन्त्री ओलीले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि बताए । उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको बताए ।
उद्योग बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र रोजगारी पाएकाको रोजगारी पनि बन्द हुने उनले बताए । ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले बक्यौता उठाउन पनि उद्योग चलाउनै पर्ने बताए । ‘बक्यौता उठाउन पनि उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्नुस् । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ,’ उनले भने ।