काठमाडौं । तनहुँमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार बृहत्त श्रीकृष्ण जन्माष्टमी जात्रा / मेला २०८१ हुने भएको छ । आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा जात्रा एवम् मेलाको आयोजना गर्न लागिएको हो ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिएका छन् । आँबुखैरेनी क्षेत्रको लोक संस्कृति संरक्षण एवम् प्रवद्र्धन गर्ने हेतुले ‘हाम्रो थिति, जोगाइँ राखौं संस्कृति’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २०६३ सालमा स्थापना भएको मञ्चले स्थापना कालदेखि नै कृष्ण जन्माष्टमी र तीज पर्व मनाउन अग्रणी भूमिका खेल्दै आएको छ ।
यस वर्ष पनि जन्माष्टमी मेला आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । मञ्चका अध्यक्ष श्रेष्ठले सबै संघसंस्थाहरुलाई झाँकी र ¥यालीमा सहभागी हुन अपिल गरेका छन् ।
आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा स्थानीय स्तरका सबै टोल सुधार समिति, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समिति र विभिन्न संघसंस्था क्लवहरुसँग सहकार्य गर्दै मेलाको आयोजना गर्न लागिएको हो ।
यस्तै जात्रालाई भव्य एवं सभ्य तरिकाले सफलतापूर्वक सम्पन्न गर्न मञ्चले आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन गर्दै आएको थियो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गर्दै आँबु खैरेनीमा हुने जात्रालाई सफल बनाउन आग्रह गरेका छन् । मेलाको अवसरमा अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बजोड प्रस्तुती रहेन आयोजकले जनाएको छ ।