काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ चिति स्याउत र दोर्दी गाउँपालिका ८ दुबारको सीमानामा रहेको कमिरेको पहिरोले स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
हिउँदमा दुःख नदिएपनि वर्खाको समयमा भने पहिरोले दुःख दिने गर्दछन् । उक्त पहिरोका कारण विगत तीन वर्षदेखि वर्खाको समयमा सडक अवरुद्ध हुँदै आएको छ भने हिउँदमा मात्र सडक सुचारु हुने गर्दछ । पहिरोले सडक क्षतिग्रस्त बनाएको छ ।
पहिरोका कारण सडक क्षतिग्रस्त हुँदा त्यो बाटो भएर हिँड्ने सर्वसाधारण, विद्यार्थी, यातायात व्यवसायीलाई सास्ती भएको छ ।
पटक–पटक सडक श्रमदान गरेर बनाएपनि पहिरोले भत्काउने गरेको छ । जसका कारण स्थानीय आजित भएका छन् ।
दुबारका प्रकाश गुरुङले पहिरोले विद्यार्थी लगायतका सर्वसाधारणलाई आवात जावतमा समस्या भएको बताए । उनका अनुसार उक्त बाटो भएर दैनिक ३० देखि ४० जना विद्यार्थीहरु चिति तिलाहरको जनकल्याण माविमा पढ्न आउने गर्दछन् ।
समाजसेवी श्याम अधिकारीले स्थानीहरु श्रमदान गर्न आउनै छोडेको बताए । उनले अहिले यातायात व्यवसायी र व्यापारिहरुले श्रमिक ल्याएर पहिरो पन्छाउने र सडक मर्मत गर्न लागिएको बताए ।
उनले उक्त सडक पटक–पटक पहिरोका कारण अवरुद्ध हुने गरेको भन्दै वडाध्यक्ष र मेयरलाई ध्यानाकर्षण समेत गराएका छन् । उनले नगरपालिकालाई अनुगमन टोली पठाउन समेत आग्रह गरेका छन् ।
हेर्नुहोस् भिडियो