रुपा थापा
तिमि प्रेमलाई महसुस गर्छौं
म प्रेमलाई फगत एक प्रतिक्षा मान्छु
नदिका दुई धारझै
ऊ पारी पारि बहन्छ
म भने वारी नै उस्को प्रतिक्षामा बस्छु
तेज वायुपंखी घोडामा चढेर
जव एक फन्को मारिसक्छ तिम्रो प्रेमले
सपनिका ति क्षितिजहरुलाई
म भने प्रेम गर्छु
त्यो चिप्लेकिरालाई
जो विस्तारै विस्तारै बोकेर हिँडिरहेछ
आफ्नै अस्तित्वको पहाडहरुलाई
म मस्त संग मसानघाटको यात्रा गर्छु
न त मेरो आउने नै ठेगाना छ
न त मेरो जाने नै ठेगाना छ
फेरि पनि प्रेमका हावाहरु
मेरै वरि परि मलाइ स्पर्ष गरेर
किन सम्झाउछ प्रेमलाई
तिम्रो प्रेम तिमिसँग भएर पनि
टाढा टाढा धेरै टाढा थियो
तर मेरो प्रेम भने
मेरो साथ नभएर पनि
मेरा पाइलाका प्रत्येक पदचापहरुमा थियो
तिमि प्रेममा बास्ना खोज्छौ
म प्रेमलाइ उडिरहेका धुवाहरुमा खोज्छु
तिमि तिम्रो प्रेमको लागि मन्दिर धाउँछौ
म मेरो प्रेमको लागि मसानघाट धाउँछु
तिम्रो प्रेम ओइलाउँछ
ति फूलहरु जस्तै
मेरो प्रेम भने मस्त सँग उडिरहन्छ
त्यहि धुवाहरुसँगै क्षितिजलाइ छुनको लागि
तिम्रो प्रेम बन्धन को एउटा डोरीमा बाँधिएको छ
मेरो प्रेम स्वतन्त्रता को गंगासंगै बगिरहेको छ
मेरो प्रेम जहा छ प्रतिक्षामा छ
तर मलाइ भेट्नु छैन मेरो प्रेमलाई
किन भने प्रेमलाइ भेटेको दिन
म निर्वाधसंग त्यो मसानघाटको यात्रा गर्न सक्दिन