तिहार हाम्रो संस्कृतिको एक महत्वपूर्ण चाड हो । जसमा देउसी–भैलो खेल्ने परम्पराले विशेष स्थान ओगटेको महसुस गरेको छु । यस पर्वले हामीलाई संस्कृति र सामूहिक एकताको पाठ पढाउँछ ।
विगतमा देउसी–भैलोबाट संकलित रकमलाई साथीहरूबीच रमाइलो गर्न, पिक्निक गर्न वा घुमघाममा खर्च गर्ने चलन भए पनि यसलाई समाजसेवा र जनचेतनाको लागि पनि उपयोग गर्न सकिन्छ । रमाइलोसँगै समाजप्रतिको जिम्मेवारीको भावना पनि राख्न सक्यौं भने देउसी–भैलोको महत्त्व अझ बढ्नेछ । यस अवसरमा, हामीले जम्मा गरेको रकमले गर्न सकिने केही उदाहरणीय कार्यहरूलाई मैले यसरी प्रस्तुत गरेको छु :
१) असहाय र बिरामी व्यक्तिहरूलाई सहयोग:
देउसी–भैलोबाट जम्मा भएको रकम असहाय र गम्भीर बिरामी भएका व्यक्तिहरूलाई उपचारमा सहयोग पुर्याउन सकिन्छ । क्यान्सर, मिर्गौला, मुतु रोगजस्ता रोगी पीडित बिरामीहरूलाई सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ । यसरी नै देउसी–भैलोको रकमले हाम्रो समुदायमा कोही कसैले आर्थिक अभावका कारण उपचार नपाउने स्थिति नहोस् भन्ने सुनिश्चित गर्न योगदान पुर्याउन सक्छ ।
२) विद्यालयमा शैक्षिक सामग्री उपलब्ध गराउने:
शिक्षा सबैको अधिकार हो, तर धेरै बालबालिकाले आर्थिक अभावका कारण शैक्षिक सामग्री अभावमा पढ्न पाउँदैनन् । देउसी–भैलोबाट जम्मा भएको रकमले यस्ता विद्यार्थीहरूलाई किताब, कापी, पेनजस्ता आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको भविष्य उज्ज्वल बनाउन सहयोग गर्न सकिन्छ । यसले समुदायमा शिक्षा र समानताको सन्देश प्रवाह गर्छ ।
३) भूकम्प वा बाढी पीडितलाई सहयोग:
प्राकृतिक प्रकोपका कारण घरबारविहीन भएकाहरूलाई कपडा, खाद्यान्न, औषधिजस्ता आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको दुःखमा साथ दिन सकिन्छ । देउसी–भैलोको रकमलाई यस्तो कठिन घडीमा पीडितको सहयोगमा लगानी गर्न सकियो भने हाम्रो सानो प्रयासले ठूलो राहत दिन सक्छ ।
४) वृद्धाश्रम र अनाथालयमा सहयोग:
वृद्धाश्रममा रहेका वृद्धवृद्धा र अनाथालयका बालबालिकाहरूलाई हाम्रो सानो सहयोगले खुसी दिन सक्छ । उनीहरूका लागि खाना, लुगा, औषधि जस्ता आवश्यक सामग्री प्रदान गरेर हामी देउसी–भैलोको रकमलाई मानवीय सेवामा लगानी गर्न सक्छौं । यसले वृद्धवृद्धा र बालबालिकाहरूलाई माया र सहयोगको अनुभूति गराउँछ ।
५) पानी र सरसफाइ परियोजनाहरू:
हाम्रो समुदायमा खानेपानी र सरसफाइको अभावले जनस्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । देउसी–भैलोको रकमबाट समुदायको खानेपानी परियोजना सुधार गर्न, सार्वजनिक शौचालय निर्माण गर्न, वा सरसफाइ कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसले स्वास्थ्य र सरसफाइको महत्त्वबारे जनचेतना फैलाउन पनि मद्दत पुर्याउँछ ।
अन्ततः देउसी–भैलोबाट जम्मा गरिएको रकम केवल रमाइलोका लागि मात्र नभएर समाजसेवामा पनि लगानी गर्न सकिन्छ भन्ने सन्देश सबैले मनन गर्नुपर्छ। यस्तो सानो योगदानले समाजमा ठूला परिवर्तन ल्याउन सक्ने सम्भावना हुन्छ ।
देउसी–भैलोको रमाइलो र समाजसेवा दुवैलाई सँगसँगै लिएर अघि बढ्दा तिहारको वास्तविक महत्त्वलाई अझ सशक्त बनाउन सकिन्छ । यस वर्षको तिहार हामी सबैका लागि रमाइलोसँगै जिम्मेवारीको पाठ पनि बनोस् भन्ने आशा गरेको छु ।
राजु परियार
क्व्होलासोथार-४, भुजुङ