जाडो मौसममा केही रोगले निकै सताउने गर्छ । जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्याहरु देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट मानिसहरु पीडित हुने गर्छन् । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि जाडो मौसम अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरीरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरीरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।
१० स्वास्थ्य समस्याहरु यस्ता छन् :
१. निमोनिया
जाडो मौसममा निमोनियाको संक्रमण बढी हुने गर्दछ । जाडो मौसममा ब्याक्टेरिया र भाइरसहरु सक्रिय हुन्छन् जसका कारण धेरैलाई निमोनिया हुने गर्छ । फोक्सोको तन्तुहरू संक्रमित भई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरि पाँच वर्ष मुनिका बालबालिका, दीर्घरोगी, वृद्धवृद्धा तथा गर्भवती महिला निमोनियाको उच्च जोखिममा हुन्छन् ।
निमोनिया श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण हो । निमोनियाको संक्रमण फोक्सोको तन्तुहरूमा भाइरस, ब्याक्टेरिया, फङ्गस (ढुसीको), माईकोप्लास्म वा परजीविहरुको संक्रमण तथा अनियमित किटाणुले हुने गर्छ । अधिकांश स्थितिमा निमोनिया हुँदा फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोषीका बीच प्राण वायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ ।
२. पिनास
पिनासले जाडो मौसममा विशेष गरी दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले पिनासको रुप धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ । हाम्रो नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खोपिल्टो बस्छ । यसरी पानी भरिएपछि नाकभित्रको साइनस तन्तुमा आक्रमण गर्छ र पिनासको समस्या उत्पन्न हुन्छ । पिनास सामान्य रोग जस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा ठूलो समस्या सिर्जना गर्छ ।
यसले गर्दा नाकबाट पानी जस्तो पातलो सिंगान बग्छ, नाक बुझिन्छ, शिरमा अत्यन्त पीडा हुने, रिंगटा लाग्ने, नाक सुक्खा हुने, रुघा लाग्ने, टाउको भारी भएर दुख्ने, पिनासको ग्रन्थिको क्षेत्रमा दबाब दिँदा दुख्ने, स्वर परिवर्तित हुने, नाकको वरिपरि वा आँखाको ठीकमाथि पीडा हुने, गन्ध ग्रहण शक्ति कमजोर हुने, ज्वरो आउने, निरन्तर रुघा लाग्ने, बेचैनी बढ्ने, नाक तथा अनुहार वरिपरि सुन्निएको अनुभव हुने, घाँटी खसखसाउने, थकान हुने, पटक–पटक हाच्छयुँ आउने, नाकबाट स्वास फेर्न गाह्रो हुन्छ ।
३. दम
जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुने गर्छ । जाडो मौसममा चिसो र सुख्खा हावाले श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन थाल्छ । खासगरी बृद्धबृद्धालाई यस रोगले धेरै सताउने गर्छ । त्यसैले यस्ता रोग भएका बृद्धबृद्धाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । चिसो हावा, धुलो धुवाँ आदिका कारण यो समस्या पैदा हुन्छ ।
४. रुघाखोकी
जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी अत्यधिक बढ्ने गरेको पाइन्छ । किनभने जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरु बढी सक्रिय हुन्छन् । जसका कारण मानिसमा रुघाखोकी लाग्ने गर्छ । यस्तो संक्रमण एकबाट अर्कोमा सर्ने भएकाले पनि थुप्रै मानिसलाई प्रभाव पर्ने गर्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । त्यसैले रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्नुपर्छ । उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग गर्नु हुँदैन ।
५. बाथ, जोर्नी दुख्ने
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोगले पनि धेरैलाई सताउने गर्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नी सम्बन्धी समस्या देखा पर्छन् । त्यसैले अधिकांश मानिस यस समस्याबाट पीडित हुने गर्छन् । जोर्नी दुख्ने समस्याले उठबस तथा हिँडडुल गर्नमै कठिनाई उत्पन्न हुन्छ । पाको उमेरका मानिसलाई यो समस्याले बढि सताउने भएपनि कहिलेकाहीँ बच्चाबच्ची तथा युवाहरुमा पनि यस्ता समस्या उत्पन्न हुन सक्छ । बाथका रोगीलाई चिसो मौसममा निकै गाह्रो हुन्छ । त्यसैले चिसो मौसममा जिउलाई न्यानो पारी राख्ने, रातको समयमा सुत्दा समेत बाक्लो कपडा ओढ्ने, जिउलाई सक्रिय राखिराख्ने, न्यानो लुगा लगाउने, पैतलालाई न्यानो बनाउने, पर्याप्त तातो झोलिलो खानेकुरा खाने, भिटामिन सी तथा डी युक्त खानेकुरा पर्याप्त खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउँछ ।
६. एलर्जी
जाडोको समयमा एलर्जीको समस्या निकै धेरै हुन्छ । एलर्जीका कारण रुघा, खोकी, घाँटी दुख्ने, सुन्निने जस्ता समस्या पैदा हुन्छन् । जाडोमा हुने यस्ता एलर्जीले स्वास्थ्यमा पनि भिन्नै प्रकारको समस्या निम्त्याउने गर्दछ । यसको मुख्य कारण रोगप्रतिरोधी प्रणाली नै हो भने कतिपय अवस्थामा भने यो सधैभरि देखा पर्दछ । जाडोमा लगातार हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एक प्रकारको एलर्जीको संकेत हो । सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुने गर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ । जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ । संवेदनशील छाला भएका व्यक्तिलाई पनि यो समयमा छाला सम्बन्धि धेरै समस्या हुने गर्छ ।
७. हृदयघात
जाडोमा धेरै मानिसलाई हृदयघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । त्यस्तै जाडोमा रक्तचाप उच्च हुन्छ भने यसले नशाहरुमा बढी दख्खल दिन्छ । जसले गर्दा नशा फुट्ने गर्दछ । मुटुमा जमेर बसेको बोसो जाडोमा अझ धेरै जम्ने भएकाले यसले मुटुको नलीमा अवरोध उत्पन्न गरी हृदयघातको जोखिम बढाउँछ । जसका कारण मोटा र वृद्धवृद्धाहरुले जाडो मौसममा मर्निङ वाक गर्न उपयुक्त हुदैन ।
८.घाँटीको समस्या (टन्सिल)
चिसोमा देखिने अर्को प्रमुख समस्या हो, घाँटीको समस्या । जसमा पनि टन्सिल जाडोमा निम्तिने प्रमुख समस्या हो । जाडो मौसममा धेरैलाई घाँटीको संक्रमण हुने गर्दछ । यस्ता संक्रमणमध्ये धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्दछ । त्यसबाहेक, तापक्रममा आएको परिवर्तन, चिसो तातो मिसिएको खानेकुरा खाँदा पनि घाँटीलाई असर पार्छ । घाँटीको समस्याबाट जोगिनका लागि मनतातो पानीमा नुन राखेर कुला गरेको खण्डमा यस्ता समस्या सजिलै निको हुन्छ । मनतातो पानीले संक्रमण नहटे पनि घाँटी सुन्निन दिदैन । यस्तै झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।
९. हाइपोथर्मिया
शरीरको भित्री तापक्रम ३०० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । जब शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ । आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेन्डन रिफलेक्स हराएर जाने गर्छ । जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम हुन्छ, तब व्यक्तिको मृत्यु हुन्छ ।
१०. छालामा समस्या
जाडो मौसममा छाला पनि जोखिममा हुन्छ । जाडोमा शरीरमा पानीको मात्रा कम भइरहन्छ । त्यसैले, पानी कम पिउने बानीका कारण छालामा समस्या देखिन थाल्छ । जाडोमा चिसोका कारण देखिने विभिन्न समस्याहरु मध्ये छाला सुख्खा हुने समस्या पनि प्रमुख हो । विशेषगरी वाहिरी वायुको तापक्रम कम हुदै जाँदा सुख्खा वायुका कारण छाला सुख्खा हुने गर्दछ । छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्ने आदि हुन् । जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्ने जस्ता समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् ।