डा.अरुणा उप्रेती
बालबालिकाको उमेरलाई संवेदनशील उमेर मानिन्छ । वयस्कहरुको तुलनामा उनीहरुलाई कुनै पनि रोगले छिट्टै नै समाती हाल्ने हुन्छ । अझ चिसो मौसमका कारण अधिकांश बालबालिकाहरु प्रायजसोः जाडोमा बढी बिरामी पर्छन् । यो संवेदनशीलतालाई मध्येनजर गर्दै हामीले जाडोमा अझ उनीहरुको उचित ख्याल राख्नुपर्दछ ।
बालबालिकाहरु कुनैपनि कामको निम्ति सदैव आफ्ना अभिभावकहरुप्रति आश्रित रहने गर्दछ । जाडो महिनामा उनीहरुलाई विशेष स्याहार सुसारको आवश्यकता पर्ने हुँदा यस समयमा उनीहरुलाई हाम्रो अझ धेरै स्याहार सुसारको आवश्यकता पर्दछ ।
हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ । त्यसमा के के हालिएको छ पनि हामीलाई थाहा हुँदैन । गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ यसको दाल बनाएर, जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले जाडोमा धेरै नै फाइदा हुन्छ ।
बालबालिकालाई विशेष गरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ‘सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ । यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा खाने गर्नुपर्छ । जुन सजिलै घरमै उपलब्ध ह पनि हुन्छ ।
अर्को कुरा जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्याँस बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा आगोबाट निस्किएको कार्बनमोनोअक्साइडका कारण निधन पनि हुने गरेको छ । त्यसकारण यस्ता कुरामा सजग रहेर मात्र आगो बाल्नुपर्छ ।
बालबालिकालाई जाडोमा जोगाउनका लागि विशेष गरी तातो, न्यानो कपडा पनि लगाइदिने गर्नुपर्छ । किनकि उनीहरुको शरीरको तापक्रम चिसोले चाँडै घट्ने हुन्छ ।
बालबालिकामा चिसो मौसमका कारण कुनैपनि किसिमका शारीरिक समस्याहरु देखा नपरोस भन्नका निमित्त हामीले उनीहरुले लगाउने कपडादेखि खाने खानाहरुमा समेत विशेष ध्यान दिन आवश्यक पर्दछ । यसको निमित्त शरीर न्यायो भइराखोस भन्नको निमित्त उनीहरुलाई तातो खानाहरु मात्र खान दिनुपर्दछ । यस्तै घ्यु, चाकु तथा तिलले शरीरमा ऊर्जा प्रदान गर्ने भएकोले आफ्ना बालवालिकाको खानामा यस्ता आहाराहरुको समावेश अनिवार्य रुपमा गराउनुपर्दछ ।
स्वस्थकर खानेकुरा खाने बानी बसाउनका लागि भान्साको काममा उमेर अनुसार उनीहरुले सक्ने काममा बालबालिकालाई सहभागी गराउनुपर्छ । त्यसो गर्दा बालबालिकालाई आफ्नो मेहनत परेको छ भनेर खान मन लाग्छ । त्यसैले बालबालिकालाई पनि भान्साको काममा सहभागी गराउनुपर्छ भनिएको हो । स्कुलका शिक्षकहरुले पनि विद्यार्थीहरुलाई स्वस्थकर खानेकुरा खान प्रेरित गर्नुपर्छ । बालबालिकालाई तातोपानी र बेसार, अदुवा, ज्वानो मिश्रित सुप खुवाउनुपर्दछ ।
आवश्यक भिटामिन डि घामबाटै मिल्ने भएकोले साना बालबालिकालाई घाममा राखेर तेल लगाइदिने र खेल्न दिनुपर्दछ । केही अभिभावकले आफ्नो बालवालिकालाई चिसो नहोस् भन्नको निमित्त आवश्यक भन्दा बढी कपडा शरीर नै गुम्सिने गरी लगाइ दिने गरेको पनि पाइएको छ । तर, शरीरलाई तातो बनाउने नाममा ज्यान नै गुम्सिने गरी कपडा लगाइ दिनुपर्छ भन्ने मान्यता विल्कुल गलत हो । तर, यस समयमा बालवालिकालाई सकेसम्म भोटो लगाइदिन एकदमै उपयुक्त मानिन्छ । आफ्ना बालवालिकामा घ्यार—घ्यार हुने तथा ज्वरो आउनेजस्ता समस्या देखापरेको खण्डमा स्वास्त्य कर्मीसङ सल्लाह लिनुपर्छ
उनीहरुलाई चिसो नलागोस् भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि विशेषगरी उनीहरुको टाउको र खुट्टालाई न्यायो बनाइ राख्नुपर्दछ । यस्तै, रुघाखोकी लागेको समयमा बालबालिकालार्ई मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकोले उक्त घरेलु औषधीको पनि प्रयोग गर्न सकिन्छ । यदि बालबालिकामा कुनैपनि समस्या लगातार रुपमा देखा परेको छ भने त्यस्तो अवस्थामा पनि कुनैपनि औषधिको सेवन गराउनुपूर्व सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्दछ ।