डा.अरुणा उप्रेती
केही बर्षा पहिले मुगु अस्पतालमा पुग्दा बच्चालाई खुवाउने पिठोका बट्टाहरू बाटोमा पयाँकोको देखेंँ । बट्टामा लेखिएको रहेछ, ‘नेपालको स्वास्थ्य मन्त्रालयका लागि विशेष रूपले बनाइएको’ गहुँ, चिनी र भटमासको त्यो मिश्रण भारतको उडिसामा बनेको रहेछ । नेपालका बालबालिकालाई कुपोषणबाट मुक्त गर्न दिइने पिठो भारतबाट ल्याउनुपर्ने अचम्मको कुरा होइन र ?
मुगु र जुम्ला जहाँ चिनो, उवा, कागुनोका साथै गहुँ र आलुजस्ता विभिन्न प्रकारका अति उत्तम आहार पाइन्छ, त्यहाँ प्याकेटका खानेकुरा भारतबाट किनेर ल्याई सरकारले बाँड्नुको पछाडि कुनै औचित्य छ र ? ‘त्यस्तो पिठो यहाँ चाहिँदैन भनिसकेका छौं । किन तपाइर्ंहरूले पठाउनुभएको भनी स्वास्थ्य मन्त्रालयमा फोन पनि गर्यौं,’ मुगुमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘तर मन्त्रालयका मानिसले भने, ‘हामीले त रोक्न खोजेका हौं, तर हाम्रो त केही जोर चलेन, पठाउनैपर्यो ।’ मुगुका स्वास्थ्यकर्मीले यहाँ पिठो चाहिँदैन भन्दाभन्दै स्वास्थ्य मन्त्रालयले पठाउनैपर्ने जरुरत के थियो र ? उडिसाबाट काठमाडौं ल्याई मुगु पुर्याउँदा कति समय र पैसा खर्च होला, सायदै कसैले लेखाजोखा गरेको छ ।
सबभन्दा दुःखलाग्दो कुरा के हो भने स्वादिष्ट आलु, अति उत्तम मानिएको कागुनो, चिनोजस्ता खाद्यपदार्थहरू पाइने ठाउँमा त्यहाँका मानिसहरूलाई यस्ता पदार्थहरूको उपयोग गरेर कसरी कुपोषणबाट बच्न सकिन्छ भन्ने जानकारी दिनुको सट्टा बाहिरबाट ल्याइएको पिठोको बट्टा आमालाई दिएर तिमीहरूको बच्चालाई ख्वाउ भन्दा के सन्देश जान्छ ? सको अर्थ हाम्रा आफ्ना उत्पादनहरू ठीक छैनन् । त्यसैले किनेकै आयातित खानेकुरा खानुपर्छ भन्नु नै हो ।
एकातिर खाद्य संस्थाले कामको सट्टामा चामल बोकेर त्यहाँका मानिसहरूलाई कोदो र फापरभन्दा चामल उत्तम पोषण हो भन्ने सन्देश दिन्छ, अर्कोतिर स्वास्थ्य मन्त्रालयले गहुँ र भटमासलाई प्याकेटमा बन्द गरेर भारतबाट ल्याई जनतालाई बाँड्छ ।
प्याकेटमा अंग्रेजीमा लेखिएको हुनाले सायद त्यहाँका आमाहरूले पढ्न सक्दैनन् । यदि उनीहरूले थाहा पाउँदा हुन् त भटमास र गहुँ, चिनी मिलाएर बनाइएको पिठो विदेशबाट महँगोमा आयात गर्नु पर्दैन, यो त हामीकहाँ नै पाइन्छ भन्थे होलान् । तर मौनताको संस्कृतिभित्र अल्झेका मुगुका आमाहरू र कणर्ालीका बाबाहरू त्यस्तै पिठो लिँदै चुपचाप लाग्छन् र भविष्यका लागि हाम्रो गाउँघरमा फलेको अन्न राम्रो रहेनछ भन्ने शिक्षा मनन गर्छन् ।
केही महिनाअघि मेरो हातमा एउटा पत्र परेको थियो र कणर्ाली खाद्य सहकारी समूहलेे प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कणर्ालीमा पछिल्लो चार दसकमा विकासको क्रममा सञ्चालित विभिन्न कार्यक्रमले कणर्ालीको आम्दानी बढाउनुभन्दा आयातित खाद्यवस्तु -अर्थात चामल) इज्जतदार मानिनुले स्थानीय उत्पादनको प्रयोगलाई हीनताबोध हुँदा मानिसहरूमा आत्मग्लानि बढेको छ । यसले त्यहाँको जनताको विकासको अवधारणा ‘चामल आए मात्र विकास चामल खान नपाएचाहिँ दुर्गति’ भन्ने विश्वास बनेको छ । साना बच्चालाई एक दिनमा १५-२० मिलिग्राम आइरन चाहिन्छ । चामलमा गहुँ, फापर, भटमास र दलहनका साथै काउलीको पात, पालुङ्गो, तोरी आदिबाट पनि आइरन प्राप्त गर्न सकिन्छ । त्यसैगरी क्याल्सियम भटमास, फापर, काउलीको पात, ज्वानो, तिल आदिमा पर्याप्त मात्रामा हुन्छ । कृषि मन्त्रालयले अनुसन्धान गरेर निकालेको पुस्तिकाहरूमा नेपालका विभिन्न अन्न तरकारी, दाल आदिमा पाइने २० औं थरीका सूक्ष्म पोषणतत्त्वको बारेमा विस्तृत रूपमा लेखिएको छ । तर ती अन्नलाई दलहनहरू मिसाएर नेपालमा नै अति उत्तम पिठो बनाउन सकिने कुरा कतै बिर्सिएको पो हो कि ? जुम्ला र मुगुमा पाइने गहुँ र उवालाई मिसाएर बच्चालाई पिठो बनाएर किन दिन सक्नुहुन्न ?
स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले ‘हामीले पनि यस्ता बालभिटा विषयमा विभिन्न ठाउँबाट थाहा पाएपछि यस्ता वस्तुहरू रोक्न प्रयास त गर्यौं । तर माथिबाट कसैले रोक्नै दिएन भनेपछि अब के भन्ने ? चामल र बालबालिकाका लागि भारतबाट पिठो तथा बालभिटा र पठाउनु पर्दैन भन्नेबारे अब सरकार तथा सबै सम्बन्धित निकाय र आम नागरिक सचेत हुनु जरुरी छ ?