काठमाडौं । लमजुङ दोर्दी गाउँपालिकाले फोहर र जोखिमयुक्त अवस्थाका सिसालाई पेल्न ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको छ । छरिएर रहेका सिसाका बोतलहरूबाट हुने जोखिम कम गर्न र सिसाको उचित व्यवस्थापन गर्न गाउँपालिकाले सिसा पेल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
गाउँपालिकाले बजेट व्यवस्थापन गरेर ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको हो । दोर्दी गाउँपालिका ४ नौथर सेराको गाउँपालिका खेलमैदान नजिकै निर्माण गरिएको साझा सुविधा केन्द्रमा मेसिन राखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार गाउँपालिकाले निर्माण गरेको साझा सुविधा केन्द्र भवनमा मेसिन राखिएको छ । मेसिन हब नेपालमार्फत खरिद गरेर ल्याएको उक्त मेसिन सुरुका दिनमा महिनामा कम्तीमा ३–४ दिन सञ्चालनमा ल्याइने बताए ।