काठमाडौं । बागमती कार्य योजना प्रकृतिमैत्री रूपमा अघि बढाउने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथी छलफल कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अबका योजनाअनुसार प्रकृतिमैत्री रूपमा अघि बढाउनुपर्ने बताए ।
‘बाग्मती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरा दिएका छौं । बाग्मती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडी बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिन्छौँ ।’
उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्त्वपूर्ण सुझावहरू आएको पनि बताए। बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरु नदिको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र,ग्रामीण क्षेत्र,उपशहरी क्षेत्र,सहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ ।
२० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथी छलफल आयोजना गरेको हो ।
कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखहरुले उपत्यकाको सुन्दर भविष्यको लागि स्थानीय बाहेकलाई घरजग्गा खरिद गर्न रोक लगाउने कानुन निर्माण गर्नुपर्ने, बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्नेमा जोड दिँदै बागमती करिडोरलाई व्यवस्थित गनुपर्ने तथा हरियाली कायम हुने ढंगले कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकामा बस्ती विकास नियन्त्रणविना बागमती सफाइ अभियान सफल नहुने बताउँदै उपत्यकामा बाहिरका मानिसले घर जग्गा खरिद गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने र समयअनुसार संघीय राजधानी दाङ जिल्लामा सानुपर्ने जनसंख्या नियन्त्रणका प्रमुख उपायहरु हुन सक्ने धारणा राखे ।
बागमती सभ्यताको लागि अरबौं खर्च भए पनि उपलब्धीमूलक काम हुन नसकेको बताउँदै उनले खोला सफा राख्न नगरकोट र शिवपुरी जस्ता पानीको स्रोत भएको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी त्यसको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइनुपर्ने बताए ।
अनियन्त्रित ढंगले अव्यवस्थित प्लटिङको विकास र अध्ययनविना निजी प्लानिङ गर्नेलाई स्वीकृति दिँदा खोलाहरुमा प्रदूषण बढिरहेको बताउँदै उनले भक्तपुर नपाले सरसफाइ ऐनबमोजिम विभिन्न कानुन निर्माण गरी काम गरिरहेको बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्ययोजनामा उपत्यकाका सांस्कृतिक सम्पदाहरु संरक्षण गर्ने विषय पनि समावेश हुनुपर्ने बताउँदै खोला सुरक्षाको लागि निर्माण भएका रिटेनिङ वालहरुले विपद् निम्त्याइरहेको बताए ।
वैदेशिक ऋणबाट मुलुकलाई विकास गर्ने नीतिले मुलुक डुब्ने खतरा भएको बताउँदै उनले ललितपुर महानपाले कुनै पनि संघ संस्थालाई जग्गा दिने काम बन्द गरेको बताए ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले २० वर्षे कार्ययोजना उपत्यकाका नगरपालिकाहरुसँग जोडिएको विषय भएको बताउँदै उनले छलफलबाट प्राप्त सकारात्मक सुझावहरुाई समेटेर कार्ययोजनालाई पूर्णता दिइने बताए ।
उपत्यकाका नदी प्रणाली संरक्षण र नदी किनारामा भएका सम्पदा संरक्षण कार्ययोजनाका मुख्य विषयहरु भएको उनले बताए ।
गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाका राजकुलोहरु पुनःनिर्माण गर्नुपर्ने बताउँदै करिडोर निर्माण गर्ने ठाउँमा भएका बस्तीहरुको व्यवस्थापनतर्फ पनि ध्यान पुर्याउनुपर्ने बताए ।
दक्षिणकाली नपाका प्रमुख मोहन बस्नेतले दक्षिणकालीमा पनि करिडोर निर्माण गर्नुपर्ने बताउँदै आर्थिक प्रगतिसहितको कार्ययोजना आवश्यक भएको बताए ।
बुढानिलकण्ठ नपाका उपप्रमुख अनिता लामाले उपत्यका अति अस्तव्यस्त भइसकेको बताउँदै कार्ययोजनाले आत्मनिर्भरताको बारे पनि सम्बोधन गर्नुपर्ने बताइन् ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, ललितपुर महानपाका उपप्रमुख मन्जली शाक्य, तार्केश्वर नपाका प्रमुख कृष्णहरि महर्जन, बुढानिलकण्ठ नपाका प्रमुख मिठाराम अधिकारी, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, गोकर्णेश्वर नपाका प्रमुख दिपककुमार रिसालले प्रस्ताविक कार्ययोजनाहरुबारे राय–सुझाव प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सी.डी.ई उद्धव नेपाल कार्ययोजनाको उद्देश्यबारे प्रष्ट पारेका थिए भने आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा शहरी विकास मन्त्रालय भवन विभागका उपमहानिर्देशक रविन्द्र बोहराले पनि बोलेका थिए ।