काठमाडौं । लमजुङ क्व्होलासोथार गाउँपालिकाले गाउँपालिकाभित्रका ८५ वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरै पुगेर तातोपानी राख्ने थर्मस प्रदान गरेको छ । यसअघि औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गरिएकोमा कार्यक्रम स्थलसम्म आउन नसकेका जेष्ठ नागरिकलाई घरदेखि ओछ्यानसम्मै पुगेर गाउँपालिकाका जनप्रतिनिधिले थर्मस प्रदान गरेको छ ।
पुस ११ गते मनाइएको चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा क्व्होलासोथार गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ८५ वर्ष माथिका जेष्ठ नागरिकलाई तातोपानी पिउनको लागि उपयुक्त थर्मस वितरण गरेको थियो ।
औपचारिक कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई अहिले गाउँ–टोल साथै घरमै पुगेर थर्मस प्रदान गरिएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । उनका अनुसार धेरैजसो वडाका जेष्ठ नागरिकलाई थर्मस प्रदान गरिएको र वितरण गर्ने क्रममै रहेको छ ।