काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको जवाफ दिएका छन् ।
गणतन्त्रवादी दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएपछि शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको टुलुटुलु हेरेर बस्न नसक्ने अभिव्यक्ति दिएपछि राजनीति तरङ्गित भएको छ ।
पूर्वराजा शाह र राप्रपाको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनमा आउन चुनौती दिएका छन् ।
राप्रपाले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘मधेशका जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार, कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौं भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई लल्कार्दैछन्, राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरूसँग चुनाव हामी लड्छौं । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नका लागि हामी जस्ता मानिसहरू छौं । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनीतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’
उनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए । अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको पनि उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरू राप्रपाको रहेको उनले बताए ।