काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको हितका लागि सत्ता पक्ष र प्रतिपक्षीबीच मिलेर जानुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा आफू हुँदा ठिक र आफू नहुँदा बेठिक बन्ने बहसमा नभई देश विकासमा लाग्नुपर्ने बताएका हुन्।
बैठकको विशेष समयमा बोल्दै सांसद थापाले संसदका सबैजसो दल प्रतिपक्षी भूमिकामा पुगेसँगै यस्तो गरेको भन्दै समस्यालाई बढाइचढाई प्रस्तुत नगर्न आग्रह गरे। ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो। आफ्नो बेलाका कुरालाई डिफेन्ड गर्ने हो। गर्नै पर्छ। तर, हामीले समस्यालाई यसरी बढाइचढाइ प्रस्तुत गछौँ कि यो समस्या होइन, यो क्राइसिस हो, गयो-गयो। डुब्यो। सकियो। भत्कियो। म हुँदा ठिक थियो म नहुँदा बर्बाद भयो,’ उनले भने।
यस्तै, उनले सरकारले आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको भए सच्चाउनुपर्ने बताए। उनले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ। सरकाले नचाहिने ठाउँमा हात हाल्नु हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनु हुँदैन। जुन कुरा चलाउनै हुँदैन र आवश्यक छैन।’