काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भने, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ ।
‘हाम्रो देशमा कुष्ठ रोग उन्मुलन भएको छैन । मधेस, लुम्बिनी र कोशी प्रदेशमा अलि बढी असर रहेको छ’,प्रधानमन्त्रीको भनाइ छ । उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको पनि बताए ।
कुष्ठरोगलाई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले खानालगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताए । उनले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने बताए ।