काठमाडौं । सांसदहरुले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन्।
विपद् व्यवस्थापन, (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद्, पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पा, सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवि गौतम, विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र लगायतले सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउदा प्रभावकारी र छिटो हुने सुझाव दिए ।
राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताउँदै मनसुनमा सतर्कता अपनाउन पूर्वतयारीका कार्यक्रमलाई जोड दिने बताए ।