काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । आज संसद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको जानकारी दिए ।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४.७ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ । यस अवधिमा संघीय सरकारको वित्त घाटा रु.१६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको विवरण अनुसार वित्तीय पहुँच बढेको छ ।
उनले भने, “सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसत २ हजार ५२७ जनसंख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ । २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ । जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ ।”
आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ ।
हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । कुल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको छ । संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।
त्यस्तै, मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मिर्गौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
यस अवधिसम्म ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारले बताएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३७ लाख ६ हजार ३८९ रहेका छन् ।