काठमाडौं । निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिनेगरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका लागि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको छ।
उनीहरूले गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सवारी ऐन २०४९ को विपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम गरेको व्यवसायीहरूको आरोप छ ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वारले सोमबारदेखि सार्वजनिक सवारी साधन थन्काएर देशव्यापी आन्दोलन गर्ने जानकारी दिए । आफूहरूको माग पूरा नभएसम्म सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने उनले बताए।