काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार गाउँसभाको १७औं अधिवेशनको ३५औं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । ‘कृषिमा आत्मनिर्भर, गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। अग्र्यानिक तरकारी उत्पादन, जैविक विविधता संरक्षण, ‘घरमै रोजगार गोठमै व्यापार’ कार्यक्रममार्फत व्यावसायिक पशुपालन प्रवद्र्धन गरिने नीति लिएको छ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई कृषि तथा पशुपालनमा अनुदान दिने, माछापालन कार्यक्रमलाई प्रोत्साहन गर्दै हरित अर्थतन्त्रको विकास गर्ने योजना छ। कृषकको लगानी सुरक्षित गर्न ५० प्रतिशत अनुदानमा पशु बीमा कार्यक्रम अगाडि बढाइनेछ।
‘सानो लगानी, राम्रो आम्दानी’ अभियान अन्तर्गत विपन्न नागरिकलाई कुखुरा, हाँस, टर्की र कालिज पालनमा अनुदान दिइनेछ।
पर्यटन विकास र पूर्वाधार विस्तारमा जोड
गाउँपालिकालाई उद्योगको हवका रूपमा विकास गर्ने लक्ष्यका साथ ‘एक बस्ती, एक आकर्षण’ अभियान सुरु गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन महाभारत क्षेत्रका पदमार्गहरू निर्माण गरिने छ। बालुवा–ओद्रेकोट–बन्दिपुर–नाँगी–मझुवा मार्गमा पदमार्ग निर्माण र होमस्टे सेवा विस्तार गर्ने योजना छ।
सुनकोशी मरिन डाइभर्सन तथा खुर्कोट–चियावारी सुरुङमार्ग निर्माणपछि पर्यटन पूर्वाधार थप सुदृढ गरिने भएको छ। देववस्थान, खानीगाउँ, सउरेनी, ओख्रेनी, काफ्लेचौर, डाँगी, बाल्दे, बुद्धपार्क हिलेखर्क, पाल्चुरी, बन्दिपुर, मतनबास र नागीगढी जस्ता स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ।
शिक्षा, स्वास्थ्य, सहकारी र सामाजिक क्षेत्रलाई प्राथमिकता
गाउँपालिकाले ‘एक वडा, तीन उद्देश्यका सहकारी’ अवधारणामा आधारित सहकारी मर्ज गर्दै स्मार्ट डिजिटल सहकारी प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। सबै विद्यालयमा बालमैत्री र अपांगमैत्री पूर्वाधार, स्मार्ट प्रविधिको प्रयोग, र समावेशी सिकाइ वातावरण प्रवद्र्धन गरिनेछ।
घट्दो बालसंख्यालाई ध्यानमा राख्दै ‘एक वडा, एक आवासीय विद्यालय’ स्थापना गरिने छ। १५ वेडको अस्पताल, ६ वटै वडामा व्यवस्थित वर्थिङ सेन्टर, र ‘सुरक्षित मातृत्व, सुनकोसीको दायित्व’ भन्ने नाराका कार्यक्रमहरू लागू गरिनेछन्।
साथै, घरघरमा स्वच्छ खानेपानी सुनिश्चित गर्नेतर्फ लाग्ने र स्नातकोत्तर तहसम्म अध्ययनरत छोरी–बुहारीलाई छात्रवृत्ति तथा सम्मान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। बालबालिकासँग गाउँपालिका कार्यक्रम, सिपमूलक तालिम, लैंगिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, सफा गाउँपालिका अभियान समेतलाई उच्च प्राथमिकता दिइएको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत स्थानीय आर्थिक विकास, सामाजिक समावेशिता र पूर्वाधार सुदृढीकरणतर्फ स्पष्ट योजना प्रस्तुत गरिएको छ।
हेर्नुहोस् पूर्णपाठ
सुनकोशी गाँउपालिकाको आर्थिक बर्ष २०८२।८३को नीति तथा कार्यक्रम