काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेटको आकार सरकारले घटाएको छ।
तत्कालीन अर्थमन्त्रीको जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए।
नयाँ सरकारले बजेटको आकार १४ प्रतिशतले घटाएको हो। आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्।
अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो।
सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पूँजीगत खर्च तीन खर्ब ८० अर्ब विनियोजन भएकोमा तीन खर्ब १३ अर्ब ५० करोड खर्च हुने संशोधित अनुमान छ। वित्तीय व्यवस्थापन तर्फ दुई खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन भएकोमा २ खर्ब १४ अर्ब २१ करोड खर्च हुने संशोधित अनुमान छ।
नेपाल सरकारको स्रोतमध्ये राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब, वैदेशीक अनुदानतर्फ ३५ अर्ब ४५ अर्ब, वैदेशीक ऋण एक खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान छ।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले संघको लागि १२ खर्ब ९५ अर्ब र स्थानीय र प्रदेश तहमा बाँडफाँट हुने सहित भने कुल १४ खर्ब तीन अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सरकारले बजेट स्रोतको रुपमा चालु आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ४६ करोड वैदेशीक अनुदान, दुई खर्ब ४२ अर्ब वैदेशीक ऋण र दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो।
पौडेलले चालु आर्थिक वर्ष २०७९÷०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने बताएका छन्।