नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी खोलामा भाँचिएको पुल पुनर्निर्माण गरी ६ महिनामै सञ्चालनमा ल्याइएको छ। बिहीबारदेखि पुलमार्गमा सवारी साधन सञ्चालन सुरु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने फलामे पुल गत पुस २६ गते भाँचिएको थियो। त्यसयता अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन हुँदै आएको थियो।
यद्यपि वर्षायाम सुरु भएसँगै डाइभर्सन जोखिमपूर्ण बन्दै गएको थियो। असार ६ गते बाढीले डाइभर्सन भत्किएपछि यात्रुवाहक बससमेत बगाएको थियो।
त्यसपछि सुरु भएको नयाँ पुलको निर्माण ६ महिनामै सम्पन्न गरिएको हो। २४५ मिटर लामो र ७.५ मिटर चौडाइको उक्त पुलमा पैदलयात्रुका लागि फुटपाथसमेत निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासी र सवारी चालकहरू राहत महसुस गरिरहेका छन्। यो पुल पूर्वपश्चिम राजमार्गको एक महत्त्वपूर्ण खण्ड भएकाले पुनर्निर्माणपछि आवागमन सहज भएको छ।