काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा अझै नटुंगिएका विषयहरू टुंग्याउन सरकारलाई ५ दिनको समयसिमा दिएको छ ।
आइतबार समितिको बैठकमा विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बैठक स्थगनको माग गरेपछि थप छलफल भएको हो ।
बैठकमा अधिकांश सदस्यहरूले विधेयक तत्काल पारित गर्न जोड दिएको भए पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषयहरूमा थप समय आवश्यक भएको भन्दै पाँच दिनको समय माग गरेका थिए ।
समितिका सभापति अम्मरबहादुर थापाले सरकारलाई ५ दिनभित्र सहमति जुटाएर विवादित विषय टुंग्याई समितिमा पेश गर्न निर्देशन दिएका छन् ।
शिक्षामन्त्री पन्तले सहमति बनेपछि समिति सभापतिलाई जानकारी गराई बैठक मिति तय गरिने बताएका छन् ।