काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीका कारण त्रिशूली नदीको उच्च बहावमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका–१, लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया श्रीमती मङ्गली तामाङ बाढीमा फसेका थिए।
उनीहरू दाउरा संकलनका लागि त्रिशूली नदी किनारमा गएका बेला चीनतर्फको वर्षाका कारण आएको आकस्मिक बाढीमा फसेका थिए।
प्राधिकरणले विज्ञप्तिमार्फत उनीहरूलाई तीन घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिएको छ।
हाल त्रिशूली नदीलगायत आसपासका नदीहरूमा बहाव बढिरहेकोले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सरकार सक्रिय छन्।