रसुवा । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ताहरूमा नौ जना नेपाली कामदार, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरी र छ जना चिनियाँ नागरिक रहेका छन्। चिनियाँ नागरिकहरूको विस्तृत पहिचान अझै खुल्न बाँकी रहेको बताइएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। साथै, त्रिशूली नदीमा रहेको बेलीब्रिज, विद्युतीय गाडी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावर र त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा समेत ठूलो क्षति पुगेको छ।
बेपत्ता प्रहरी
लालबहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक, लिखु तामाकोसी–४, रामेछाप
मुन्ना ठाकुर, प्रहरी जवान, फेटा–१, बारा
लोकेन्द्र बोहोरा, प्रहरी जवान, बुङ्गल–९, बझाङ
अन्य बेपत्ता नेपाली नागरिक
जिपन चौधरी (३६), बर्दिया
सन्तोष दइत (३५), बर्दिया
बुद्धिराम थारू (२५), बर्दिया
लक्ष्मीनारायण थारू (२४), बर्दिया
सुरेश थारू (३०), बर्दिया
नरेन्द्र विक, बागलुङ
फुर्वा लामा, कन्टेनर चालक, सिन्धुपाल्चोक
गोविन्द मोक्तान, हाइलक्स चालक
लोकमान तामाङ
उद्धार र क्षति
बाढीको समय बिहान ४:३० बजे थियो। त्यसबेला छ जना स्थानीय कामदार, एक जना चिनियाँ नागरिक, र दुई जना सुरक्षाकर्मीलाई डोरीको सहायताबाट सकुशल उद्धार गरिएको हो।
चार्जिङ स्टेसनमा रहेका सात–आठवटा विद्युतीय गाडी बगाएको छ भने भन्सार यार्डमा रहेका कन्टेनरहरू र सामग्रीसहितका डिब्बाहरू पनि बगाएका छन्।
बाटो अवरुद्ध
सदरमुकाम धुन्चेबाट उद्धार टोली परिचालित भए पनि सडक क्षतिग्रस्त भएकाले टिमुरेतर्फ पुग्न सकिएको छैन। स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पहिरो र कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन र बेपत्ताहरूको खोजी तथा उद्धार गर्न सुरक्षाकर्मी, उद्धार टोली र स्थानीय प्रशासन जुटिरहेको छ। थप जोखिम रोक्न बाढीको स्रोत र प्रभाव मूल्याङ्कन भइरहेको छ। सरकारले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र प्रभावित नागरिकहरूको तत्काल राहत र पुनःस्थापनामा जोड दिएको छ।