काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ।
साना नदीहरूमा आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्लाबाट बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्लाबाट बहने साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। महाशाखाले यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ।
सतर्कता अपनाउन आग्रह
संभावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको र साना तथा ठूला नदी-नाला तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आह्वान गरेको छ।