तनहुँ । पर्यटकीय सम्भावनाले भरिपूर्ण तनहुँको बन्दीपुर गाउँपालिकाले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत सम्पूर्ण गाउँलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने घोषणा गरेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार, गाउँको प्राकृतिक सौन्दर्य, ऐतिहासिक गढी, प्राचीन मठमन्दिर, गुफा, पदमार्ग र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै ग्रामीण पर्यटन विकासमा जोड दिइएको हो। “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो,” अध्यक्ष थापाले भने, “त्यसैले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाएका छौँ।”
गाउँपालिकाले सिद्धगुफा, पातालद्वार गुफा, शंखे गुफालगायत प्राकृतिक गुफाहरूको संरक्षणसहित गुफा पर्यटन प्रवर्द्धन गर्ने तयारी गरेको छ। त्यस्तै, थानीमाइ मन्दिर, मुकुन्देश्वरी दरबार, खड्गदेवी मन्दिर, तीनधारा महादेव, मणिमुकुन्द सेन दरबारजस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूको पुनःनिर्माण र सम्वर्द्धन गरिनेछ।
पर्यटकको बसाइ अवधि बढाउन मणिमुकुन्दसेन पदमार्ग, ‘रक गार्डेन’ र ‘क्लाइम्बिङ जोन’ जस्ता सहासिक पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ। मिनी ग्रेटवालको रुपमा चिनिएको पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।
पर्यटनबाट स्थानीय आम्दानी वृद्धि गर्ने उद्देश्यले प्रवेश दस्तुर प्रणाली, पर्यटनमैत्री खेल गतिविधि, र सूचना केन्द्र स्थापना जस्ता कार्यक्रम सञ्चालन गरिनेछ। सहासिक पर्यटकका लागि प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोनिङ र जलविहार जस्ता खेलहरूको प्रवर्द्धन पनि गरिनेछ।
गाउँपालिकाका अनुसार हाल जापान, चीन, इटाली, स्पेन, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, भारतलगायत देशका पर्यटक नियमित रूपमा बन्दीपुर आउने गरेका छन्।
टुँडिखेल, रामकोट, सुनखरी, रानीबन, भक्तपुर शैलीका घरहरू, पदम पुस्तकालयलगायत स्थललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिएको छ। साथै, छिमेकी पालिकाहरूसँगको समन्वयमा अन्य सम्भावनायुक्त स्थानहरूको प्रवर्द्धनसमेत गरिने अध्यक्ष थापाले जानकारी दिए।
बन्दीपुरको पर्यटकीय रूपान्तरणको यो अभियानले स्थानीय रोजगारी, आर्थिक विकास र सांस्कृतिक संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।