काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज (सोमबार) बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल छ। तर दिउँसो तथा बेलुकीतिर ती नदी र तिनीहरूमा मिसिने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरूमा स–साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला लगायतका जिल्लाहरूमा स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ। साथै स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायलाई पनि बाढीप्रभावित क्षेत्रमा निगरानी र आपतकालीन व्यवस्थापन तयारीमा जुट्न सुझाव दिइएको छ।
मौसम विभागले मोबाइल एप, सामाजिक सञ्जाल र वेबसाइटमार्फत नियमित अपडेट उपलब्ध गराइरहेको छ। नागरिकहरूलाई मौसमबारे जानकारी लिँदै सावधानीपूर्वक गतिविधि सञ्चालन गर्न र अत्यावश्यक बाहेक नदी तट क्षेत्रको नजिक नजान सुझाव दिइएको छ।