काठमाडौं । नेपालका पूर्वी क्षेत्रमा यो वर्ष धान रोपाइँ उल्लेख्यरूपमा घटेको पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार असार २९ गतेसम्म कोशी प्रदेशमा २०.४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७.७ प्रतिशत विन्दुले रोपाइँ कम भएको छ।
देशभर कुल १३ लाख ८३ हजार ७३२ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये हालसम्म ५९ प्रतिशत अर्थात् ८ लाख १६ हजार ४०५.७ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। गत वर्ष सोही अवधिसम्म ६७.६ प्रतिशत रोपाइँ भइसकेको थियो।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार पूर्वी नेपालमा मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा रोपाइँमा कमी आएको हो। “पूर्वी तराईमा मनसुन छिटो सुरु भए पनि वर्षा कम भएकोले किसानहरू आकाशे पानी कुरेर बस्न बाध्य भए,” उनले भने।
प्रदेशगत रोपाइँ विवरण
कोशी प्रदेश: कुल क्षेत्रफल २,७६,३८६.७३ हेक्टरमध्ये ४१.३२% मात्र रोपाइँ
मधेस प्रदेश: ३,७२,६४५ हेक्टरमध्ये ३३.८% मा मात्र रोपाइँ
बागमती प्रदेश: ७६.३१% रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा उकालो
गण्डकी प्रदेश: ६६.९९% रोपाइँ, गत वर्षको तुलनामा थोरै घट
लुम्बिनी प्रदेश: ७३.७% रोपाइँ, गत वर्ष ६६.७%
कर्णाली प्रदेश: ८३.२३% रोपाइँ, गत वर्षभन्दा अलिक कम
सुदूरपश्चिम प्रदेश: सबैभन्दा बढी ९३.१% रोपाइँ, गत वर्ष ८६%
वर्षा औसतभन्दा कम
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुन अवधिमा १४०० मिलिमिटर वर्षा हुने गरे पनि हालसम्म केवल २७% (करिब ४०० मिमी) मात्र वर्षा भएको छ।
जनकपुरमा ११% (१०० मिमी),
विराटनगरमा १५% (१५० मिमी) मात्र वर्षा भएको छ।
पोखरामा २२%, धनगढीमा ३५% वर्षा भएको जनाइएको छ।