काठमाडौं । बहुप्रतीक्षित मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को निर्माण कार्य अझै पूरा हुन सकेको छैन। तेस्रोपटक थप गरिएको म्याद पनि यही असार २९ गते सकिँदै निर्माण कार्य समयमै सम्पन्न नहुँदा पुनः म्याद थपको सिफारिस गरिएको छ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर लामो पूर्वी खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसके पनि अन्य संरचनागत काम बाँकी रहेकाले म्याद थप्नुपर्ने अवस्था आएको हो।
योजना अन्तर्गतका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, “कालोपत्रको सबै काम सकिएको छ। दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा कालोपत्र भइसकेको छ। अधिकांश स्थानमा रङरोगनको कामसमेत पूरा भइसकेको छ। अब थोरै काम मात्र बाँकी रहेकाले मन्त्रालयमा म्याद थप सिफारिस पठाइएको छ।”
८६ प्रतिशत मात्रै प्रगति
हालसम्म पूर्वी खण्डको समग्र प्रगति ८६ प्रतिशत मात्र पुगेको छ। बाँकी कार्य सम्पन्न गर्न अझै केही महिना लाग्ने प्रष्ट संकेत देखिएको छ।उक्त खण्डको निर्माण कार्य विसं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले लिएको हो।
६ अर्ब २१ करोडको लागत
एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा निर्माण भइरहेको उक्त खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ। सडकमा सवारी चाप तीव्र रूपमा बढ्दै गएकाले विसं २०२६ मा रेखाङ्कन गरिएको यो मार्गलाई चार लेनमा विस्तार गरिएको हो।
समयमै सक्न नसक्दा आलोचना
तेस्रोपटक म्याद थपिए पनि कार्य सम्पन्न नहुनुले निर्माण कम्पनीमाथि प्रश्न उठ्न थालेको छ। सार्वजनिक निर्माणमा देखिने ढिलासुस्ती, म्याद थप्ने प्रवृत्ति र अनुगमनको कमजोरीले यस्तो अवस्था दोहोरिनु आलोचित बन्दै आएको छ।
योजना समयमै सम्पन्न गरी जनताले सहज तथा सुरक्षित यात्रा अनुभव गर्न पाउने वातावरण बनाउनुपर्ने माग स्थानीयबासी तथा सरोकारवालाहरूले गरिरहेका छन्।