काठमाडौं । सरकारले साउन महिनालाई ‘डेंगी सचेतना महिना’को रूपमा मनाउने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विशेष कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगबारे जनचेतना फैलाउने उद्देश्यले साउन महिना चयन गरिएको जानकारी दिएको हो।
कार्यक्रममा मन्त्रालयले यस वर्ष देशभर ६० हजारभन्दा बढी नागरिकमा डेंगी संक्रमण देखिन सक्ने अनुमान सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा संक्रमणको जोखिम अझै बढ्ने आँकलन गर्दै समयमै सतर्कता अपनाउन आग्रह गरिएको छ।
मन्त्रालयका अनुसार डेंगी संक्रमण साउनदेखि कात्तिक महिनासम्म बढी देखिने भएकाले साउन महिनाबाटै सतर्कता, जनचेतना, सफाइ र रोकथाममा जोड दिइएको हो।
स्वास्थ्य मन्त्रालयले डेंगीविरुद्धको अभियानमा स्थानीय तहहरूसँग मिलेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। लामखुट्टेको बासस्थान नष्ट गर्ने, घर वरिपरिको सफाइ गर्ने, पानी जम्न नदिने लगायतका उपायलाई व्यापक बनाइनेछ।
मन्त्रालयले सर्वसाधारणलाई डेंगी संक्रमणका लक्षणबारे जानकार बन्न, ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आत्मोपचार नगर्न आग्रह गरेको छ। साथै, विद्यालय, समुदाय र सार्वजनिक स्थानहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ।