काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ। करार सेवामा कार्यरत तीन जना सवारी चालक र पाँच जना कार्यालय सहयोगीको करार अवधि खारेज गरिएको हो।
अध्यागमन कार्यालयले ती कर्मचारीका लागि जारी गरिएको स्थायी पास पनि निष्क्रिय बनाएको छ। नागरिक उड्डयन कार्यालयलाई पठाइएको पत्रमार्फत पास निष्क्रिय गराउन अनुरोध गरिएको हो।
बर्खास्त गरिएका कर्मचारीहरूमा गुञ्जा बुढाथोकी, दिपेन्द्र दाहाल, श्रीराम सिलवाल, रमिता नेपाली, देवीकुमारी पोखरेल, इन्द्रबहादुर बोहोरा, चिजा पराजुली र चिनमाया स्याङ्वो रहेका छन्।
यद्यपि कार्यालयले बजेट अभावका कारण सेवा अवधि खारेज गरिएको जनाएको छ, तर सिंहदरवारस्थित विशेष ब्युरो स्रोतका अनुसार अध्यागमन कार्यसम्पादनमा देखिएको अनियमितता तथा सेटिङ संलग्नता सम्बन्धी आशंकाका कारण बर्खास्ती गरिएको बताइएको छ।
यसअघि पनि त्रिभुवन विमानस्थलमा अध्यागमन प्रक्रियामा गम्भीर लापरवाही, अवैध सिफारिस, र नक्कली कागजातको प्रयोगसम्बन्धी आलोचना हुँदै आएको छ। यस्तो अवस्थामा प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले कडाइ गर्दै ती कर्मचारीलाई हटाएको विशेष स्रोतको दाबी छ।