लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–१, चिप्लेटीमा देखिएको किङ कोब्राको उद्धार सफल भए पनि त्यसपछिको घटनाले वन कार्यालयलाई थप संकटमा पारेको छ।
उद्धारपछि सुरक्षित स्थानमा लैजाँदै गर्दा सर्प गाडीको इन्जिनभित्र पसेर बेपत्ता भएपछि वनकर्मी मात्र होइन, स्थानीय बासिन्दा समेत त्रसित बनेका छन्। सर्प अझै फेला नपरेको र गाडीभित्रै लुकेको हुनसक्ने आशंकाले डर फैलिएको छ।
डिभिजन वन कार्यालय, लमजुङका सूचना अधिकारी सन्तोष खनालका अनुसार सर्प देखिएको सूचना बिहानैदेखि चार पटक आयो, तर कार्यालयसँग न त गाडी थियो, न तालिम प्राप्त प्राविधिक।
‘डीएफओ ज्यू सिडिओ कार्यालयको बैठकमा हुनुहुन्थ्यो, गाडी पनि थिएन,’ खनालले भने, ‘मैले दौडेर गएर टोली पठाएँ। तर हामीसँग तालिमप्राप्त जनशक्ति छैन। यस्तो जोखिमका बीच काम गर्नु परेको हो।’
उनले सर्प उद्धारपश्चात गाडीमै सुरक्षित राखिएको बताए। तर सुरक्षित स्थानमा लैजाँदै गर्दा सर्प अचानक गाडीको इन्जिनतिर छिरेर हरायो।
‘तातो ठाउँ भएकाले केहीबेर त्यहीँ बस्यो, पछि देखिएन। अझै गाडीभित्रै छ कि बाहिर निस्कियो भन्ने यकिन छैन,’ उनले भने, ‘बत्ती बालेर खोज्दैछौं, तर अवस्था अनिश्चित छ।’
खानालले सामाजिक सञ्जालमा यस्ता घटनाहरू चाँडै फैलिने भए पनि उद्धारकर्ताहरूको जोखिम, अभाव र अवस्थाबारे सार्वजनिक रूपमा चासो नदेखिने गुनासो गरे।
‘वन कार्यालयलाई सर्प देखियो भने तुरुन्तै फोन गर्छन्, तर हामीसँग न विज्ञ छन्, न औजार,’ उनले दुखेसो पोखे, ‘स्रोतसाधन र तालिम नहुँदा उद्धार आफैं जोखिम बन्छ।’
यस घटनाले वन्यजन्तु उद्धारमा राज्यको लापरबाही र तयारीको कमजोरी पुनः उजागर गरिदिएको छ। यदि समयमै आवश्यक स्रोतसाधन र तालिम उपलब्ध नगरिए, यस्ता घटनाले जनजीवन अझ जोखिममा पार्न सक्छन्।