काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारमा तत्काल मन्त्रिपरिषद् हेरफेर हुने चर्चा निराधार भएको स्पष्ट पारेका छन्। मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले हाल मन्त्रिपरिषद् पुनर्गठनको कुनै औपचारिक चर्चा सत्ता साझेदार दलहरूबीच नभएको जानकारी दिए। “मन्त्री हेरफेरको कुरा केवल हल्ला हो,” उनले भने, “प्रधानमन्त्री र कांग्रेस सभापतिको तर्फबाट पनि त्यस्तो संकेत आएको छैन।”
उनले सरकारको वर्तमान गठबन्धन आगामी विसं २०८४ सम्म कायम रहने दाबी गर्दै त्यसबीचमा कामलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार केन्द्रित हुने बताए। “प्रधानमन्त्रीले काममा तीव्रता ल्याउन निर्देशन दिनुभएको छ,” मन्त्री पाण्डेले भने।
अर्को प्रसंगमा उनले भरतपुर विमानस्थलको विस्तार प्रक्रिया अघि बढ्ने बताए। “सरोकारवाला निकाय र सेनासँग छलफल भइरहेको छ,” मन्त्री पाण्डेले बताए, “यसपालि नागरिक उड्डयन प्राधिकरणको बजेटमै समावेश गरी विस्तारको काम अघि बढ्छ।”
कोरोना महामारीपछि घटेको पर्यटक आगमन पछिल्लो समय बढ्न थालेको पनि उनले बताए। “नेपाल भ्रमणका लागि पर्यटक आकर्षित हुन थालेका छन्, यो सकारात्मक संकेत हो,” मन्त्री पाण्डेले उल्लेख गरे।उनका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा मन्त्रालयले प्राथमिकता दिँदै विभिन्न रणनीति कार्यान्वयन गरिरहेको छ।