काठमाडौं । लमजुङ राइनास नगरपालिका–६ मेजर गाउँस्थित राइनासटार सिंचाइ नहरमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उक्त शव राइनास नगरपालिका–३ टिमुरे बस्ने ४२ वर्षीया सीता नेपाली को रहेको पुष्टि भएको हो। उनी कृष्णबहादुर नेपालीकी पत्नी हुन्।
बुधबार बिहान करिब पौने ९ बजे नहरमा शव घोप्टो परेर तैरिरहेको अवस्थामा फेला परेको थियो। शवलाई पहिलोपटक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
मृतक सीताको छोरीलगायत स्थानीयले शवको पहिचान गरेपछि सनाखत र कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।
शवको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कुनै आपराधिक शंका देखिए-नदेखिएको विषयमा प्रहरीले हालसम्म केही खुलाएको छैन।