लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी रकमबाट पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले आइतबारदेखि उक्त कार्यक्रम औपचारिक रूपमा सुरु भएको जानकारी दिए। उनका अनुसार बीमाबाट नागरिकले धेरै स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्ने भएकाले राहत हुने विश्वासका साथ यो कार्यक्रम ल्याइएको हो।
“जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी जनताको प्रत्यक्ष हितमा प्रयोग गर्नुपर्छ भन्ने सोचका साथ सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छौं,” अध्यक्ष अधिकारीले भने।
गाउँपालिकाका अनुसार अबदेखि दोर्दीभित्रका सबै बासिन्दाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सुविधा लिन सक्नेछन्। यसले आर्थिक अभावमा उपचारबाट वञ्चित हुने समस्यालाई समाधान गर्ने विश्वास लिइएको छ।