काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ३८.८३ प्रतिशतले नन ग्रेड (NG) प्राप्त गरेका छन्, जसका कारण उनीहरू असफल भएका हुन्।
गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षा देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थीले दिएका थिए। नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा सहभागी भएका थिए। कुल नियमित परीक्षार्थी तीन लाख ९५ हजार ९०८ जना थिए।
त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ परीक्षार्थी सहभागी भएका थिए। यससँगै कुल परीक्षार्थी संख्या पाँच लाख ११ हजार ५२५ पुगेको थियो। बोर्डले नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूले नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।