विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगरले आफ्नो एघारौं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विराटनगरमा आयोजित एक विशेष समारोहमा संस्थाले ३८ जना उत्कृष्ट महिला ऋणी सदस्यलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
साविकका पाँच क्षेत्रीय ग्रामीण विकास बैंकहरु २०७१ साउन ३० गतेदेखि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । हाल संस्थाले देशभर १८९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालय अन्तर्गतका ४२ वटा शाखाहरुबाट अनुशासित कारोबार गर्ने, कर्जा तथा बचतको सही सदुपयोग गरी उदाहरणीय व्यवसाय सञ्चालन गर्न सफल ३८ जना महिला सदस्यलाई सम्मान गरिएको हो । सम्मानित हुने प्रत्येक सदस्यलाई १० हजार रुपैयाँ नगद, आते जाते, खाना तथा आवास खर्चसमेत संस्थाले उपलब्ध गराएको थियो ।
कार्यक्रममा पुरस्कृत सदस्यहरुले संस्थाबाट प्राप्त सरल कर्जा र वित्तीय सेवाले आफ्नो आयआर्जन बढाउन र विगतको गरिबीबाट मुक्त हुन महत्वपूर्ण सहयोग पुगेको अनुभव सुनाएका थिए ।
संस्थाका विराटनगर कार्यालय प्रमुख गोविन्द प्रसाद ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन संस्थाका नायव कार्यकारी प्रमुख दिपक प्रसाद पाण्डेले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले संस्था नाफामुखीभन्दा सेवामुखी भावनाले काम गरिरहेको बताए । उनले संस्थाको लक्ष्य, नीति तथा सदस्यहरुलाई थप सहजीकरण गर्न भविष्यमा लिइने रणनीतिबारे प्रकाश पारेका थिए ।
समारोहमा संस्थामा आबद्ध तीन कर्मचारी संगठनका प्रतिनिधिहरु भोला बराल, भवानी प्रसाई र रामकिशोर महतोले संस्थाका गतिविधि, शाखाहरुको कार्यसम्पादन र सदस्यहरुलाई पुर् याइएको सेवाबारे आ–आफ्नो धारणा राखेका थिए ।