काठमाडौं । गृह मन्त्रालयले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकमार्फत प्रशासन समितिमा पठाएको छ।
मन्त्रालयका अनुसार, प्रशासन समितिले पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने तयारी गरिरहेको छ।
गृहमन्त्री रमेश लेखकका अनुसार, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरूबाट हुने सेवा प्रवाह अझ सहज, सरल र छिटो बनाउन तथा भौगोलिक पहुँच र जनसंख्यामा देखिएको असमानतालाई समाधान गर्न यो पहल आवश्यक भएको हो।
हाल नागरिकहरूले नागरिकता प्रमाणपत्र लगायतका सेवाका लागि जिल्ला प्रशासन कार्यालयसम्म पुग्दा धेरै समय खर्च गर्नु पर्ने बाध्यता रहेको छ। नयाँ इलाका प्रशासन कार्यालयको स्थापना भएपछि सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
मन्त्री लेखकले आन्तरिक स्रोत व्यवस्थापनमार्फत तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप्ने विषयमा जोड दिएका छन्।
यसअघि गृह मन्त्रालयले संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्न गत पुसमा सचिवस्तरको निर्णयअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्यदल गठन गरेको थियो।
यो कदमले प्रशासनिक सेवा पहुँच र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।