काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा नं १० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ सञ्चालनमा आएको छ । अस्पतालको बिहीबार पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गरेका छन् ।
नेपालको स्वास्थ्य क्षेत्र महंगो रहेको गुनासो आइरहेका बेला आमनागरिकलाई शुलभ रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यका साथ अस्पताल स्थापना गरिएको सञ्चालक समितिले जनाएको छ ।
अस्पतालको उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा.यादवले आम जनताको पहुँचमा सेवा पुग्ने हिसाबले अघि बढ्न सुझाव दिए । यस्तै उनले भुईँ मान्छेदेखि भीआईपीसम्म अट्ने गरी स्वास्थ्य सेवा दिनसक्ने क्षमता अस्पतालले राखोस् भनि शुभकामना समेत दिए । उनले भने, ‘म क्यान्सरको बिरामी छु, ८३ वर्षको पुगेँ । भोलि यही अस्पतालमा ट्रिटमेन्टका बेलामा आउनुपर्यो भने मैले राम्र्रो उपचार पाउँछु भनेर आशा लिएको छु ।’
यसैगरी उनले लगानीकर्ताले लगानी अनुसार प्रतिफल खोज्ने भए पनि स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल भन्दा पनि जनताको सेवा प्रमुख सोचेर काम गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद अर्जुननरसिंह केसीले शुभम प्राइभेट संस्था भए पनि समुदायमुखी भएर काम गर्न सुझाव दिए । त्यस्तै तल्लो तहका नागरिकहरुको सेवाका लागि पहिलो प्राथमिकताको केन्द्र शुभम बन्न सकोस् भन्ने सुझाव दिए । साथै नाम मात्र अन्तर्राष्ट्रिय नभए काम पनि अन्तर्राष्ट्रिय ढंगले गर्न आग्रह गरे ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. केदार नरसिंह केसीले आफ्नो नेतृत्वमा तल्लो तहका नागरिकहरुको सेवालाई प्राथमिकता दिने गरी अस्पताल खोलिएको बताए ।
मुलतः तारकेश्वर नगरपालिकामा बस्ने नागरिक र नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायतका काठमाडौंसँग नजिक रहेका जिल्लादेखि देशभरका नागरिकहरुलाई सेवा दिने हेतुले अस्पताल निर्माण गरिएको सञ्चालक समितिले जनाएको छ ।
करिब १५ करोडको लगानीमा दुई वर्ष अगाडी स्थापना भएको यस अस्पतालमा आकस्मिक सेवा, ल्याब, ओपीडी र फार्मेसी लगायतको सेवा मात्र संचालनमा रहेको थियो ।
उद्घाटनपछि अस्पतालले २४सैँ घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्नेछ ।