काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा दुबै बन्द गरेको छ । सोमबारदेखि भिजिट भिसा रोक लगाएको यूएईले मंगलबारदेखि कामदार भिसा पनि नवीकरण वा नयाँ आवेदन अस्वीकार गर्न थालेपछि वैदेशिक रोजगारीमा जान तयारी गरेका नेपाली युवा र म्यानपावर व्यवसायी अन्यौलमा परेका छन् ।
नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरूको भनाइअनुसार कतिपय कम्पनीहरूले कामदार भिसाका लागि निवेदन पेश गरे पनि अन्तिम आवेदन दिनै नपाएको र दर्ता भएका आवेदनहरू समेत अस्वीकृत भएको छ । तर, यसबारे कुनै आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।
अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारले यससम्बन्धमा कुनै औपचारिक जानकारी नपठाएको स्पष्ट पारेको छ । श्रम सहचारी पंकज लाभ कर्णका अनुसार वैदेशिक रोजगार व्यवसायी र केही कम्पनीहरूले अनौपचारिक रूपमा जानकारी गराए पनि सरकारी स्तरबाट कुनै आधिकारिक सूचना आइसकेको छैन ।
हालसालै नेपालमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा कैदीबन्दी फरार घटनासँग यो रोकलाई जोडेर हेरिएको भए पनि औपचारिक पुष्टि भएको छैन ।
यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकका लागि भिसा रोक लगाइसकेको थियो । अहिले भने सोही सूचीमा नेपाल पनि थपिएको हो । भिसा रोकका कारण रोजगारीका लागि तयारी गरेका युवामात्र नभई म्यानपावर कम्पनी र व्यवसायी पनि प्रभावित भएका छन् ।