काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ। आयोजनाले आइतबार अनुभवी तथा दक्ष सेवा प्रदायक छनोट गर्न टेन्डर सार्वजनिक गरेको हो। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २ गते, २०८२ (डिसेम्बर १७, २०२५) तोकिएको छ।
सुरुङमार्ग सवारीसाधन गुड्न योग्य भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी अभावका कारण पूर्ण सञ्चालनमा आउन सकेको छैन। सडक विभागको सीमित अनुभवका कारण सञ्चालन चुनौतीपूर्ण रहेको र त्यसैले विशेष तालिम प्राप्त जनशक्तिबाट मर्मत र सञ्चालन गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिएको आयोजना प्रमुखले जानकारी दिए।
छनोट हुने सेवा प्रदायकले पाँच वर्षका लागि सुरुङ मार्ग सञ्चालन तथा मर्मतको जिम्मेवारी लिनेछ। यस अवधिमा विदेशी विज्ञहरूको सहकार्यमा नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गरिनेछ, जसले भविष्यमा अन्य सुरुङ तथा द्रुतमार्ग जस्ता संरचना स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज बनाउने विश्वास गरिएको छ।
सुरुङ २४ घण्टा सञ्चालन हुने भएकाले आपत्कालीन अवस्था — दुर्घटना, आगलागी वा प्रविधिगत समस्या — समाधान गर्न करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा सुरक्षा व्यवस्थापन, टोल संकलन, ट्राफिक अनुगमन र संरचना मर्मतका लागि अलग–अलग कर्मचारी राखिने व्यवस्था गरिएको छ।
मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर छ। सरकारले सवारीसाधनका लागि दस्तुर दर पनि तोकेको छ:
कार/भ्यान: आउँदा रु ६५, जाँदा रु ६०
मिनिबस/मिनिट्रक: आउँदा रु ११५, जाँदा रु ८०
बस/ट्रक: आउँदा रु २६०, जाँदा रु २००
भारी सवारीसाधन: आउँदा रु ६००, जाँदा रु २५०
यस पहलले सुरुङ मार्गको सुरक्षित, व्यवस्थित र दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

