काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् ।
आइतबार निर्वाचन आयोगबाट श्रम संस्कृति पार्टीको मान्यता प्राप्त गर्दै साम्पाङले रोजगारी सिर्जनाका लागि देशमा उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले आफ्नो पार्टी उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका लागि फिल्डमा खटेर काम गर्ने बताए ।
‘हामी अफिसमा बसेर भाषण गर्ने होइन, फिल्डमै खटिने पार्टी बनाउँदैछौं,’ साम्पाङले भने, ‘रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले देश चल्दैन, अब देश हामी आफैँले बनाउनुपर्छ ।’
उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको उल्लेख गर्दै मौलिक श्रम संस्कृतिलाई पुनः जागृत गर्नुपर्ने बताए । ‘हामीले आफ्नै मौलिक शैली बिर्सियौँ, अब ती शैली उजागर गर्दै देश बनाउने काममा लाग्छौँ,’ उनले थपे ।
साम्पाङले आफ्नो पार्टी परम्परागत दलजस्तो नहुने दाबी गर्दै हरेक टोलमा काम गर्ने श्रमदाताको संरचना निर्माण गर्ने बताए । लोकतन्त्रमा विश्वास राख्ने उनले पार्टी आवधिक निर्वाचनमा सहभागी हुने पनि जानकारी दिए ।

