काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एसबीच हुने भनिएको एकताले वाम आन्दोलन नै कमजोर हुने दाबी गरेकी छन्।
पार्टीभित्रको मूल नेतृत्व एकताप्रति झुकाव देखिएपछि मंगलबार पत्रकार सम्मेलन गर्दै झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्।
उनले भनिन्, “पहिले नेकपा हुँदा पार्टीभित्रको लोकतान्त्रिक जीवन नै समाप्त भयो। अहिले फेरि नेकपा एस र माओवादी एक भए वाम आन्दोलन कमजोर हुन्छ। त्यहाँ केवल ‘ओत लाग्ने’ व्यवस्था मात्र हुन्छ, जसले पार्टीलाई अझ कमजोर बनाउँछ।”
झाँक्रीका अनुसार पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा राज्यका संरचना र प्रणाली पनि कमजोर हुँदै जान्छन्।
उनले वाम राजनीति र संगठनलाई सुदृढ बनाउने कुरा मूल लक्ष्य हुनुपर्नेमा जथाभावी एकता र समायोजनले उल्टो असर पार्ने दाबी गरिन्।

