काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको पहलमा तीनवटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। गृह मन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ।
हालैको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कार्यालय र सवारी साधनहरूमा ठूलो क्षति पुगेको थियो। गृह मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नेपाल प्रहरी अन्तर्गत ४६५ वटा कार्यालयमा क्षति पुगेको थियो, जसमा कार्तिक महिनासम्म ४४९ कार्यालय मर्मत भई सञ्चालनमा आइसकेका छन्। बाँकी १६ वटा कार्यालय पनि छिट्टै सञ्चालनमा आउने तयारीमा छन्।
सशस्त्र प्रहरी बल अन्तर्गत ८४ कार्यालयमा क्षति पुगेको थियो र ६१ वटा सवारी साधन पूर्णरूपमा नष्ट भएका थिए। राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत दुई भवन र तीन जिल्लास्थित कार्यालयमा क्षति पुगेको थियो, जसमा ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकल प्रभावित भएका थिए। अनुमानित क्षतिको रकम रु ८ करोड ९० लाख रहेको छ।
नेपाल प्रहरीका लागि अर्थ मन्त्रालयबाट १५६ वटा सवारी साधन खरिद गर्न रु ३५ करोड ११ लाख र थप १०६ वटा सवारी साधनका लागि ४५ करोड ३० लाख स्रोत स्वीकृत भइसकेको छ। खरिद हुने सवारीमा ७५ वटा पिकअप भ्यान, प्रिजनर सवारी एक, २८ वटा कार्यालय प्रयोजनका लागि, ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी ९४ र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन्।
सशस्त्र प्रहरी बलका लागि ५९ वटा सवारी खरिद हुने छन्। यसमा ३ वटा विपद् उद्धारका लागि, ५० बोलेरो पिकअप, ३ दङ्गा नियन्त्रण ट्रक र २ एम्बुलेन्स रहेका छन्। राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चार पाङ्ग्रे सवारी खरिद गर्न २ करोड ८० लाख स्रोत अनुमति प्राप्त भएको छ।
गृह मन्त्रालयले जनाएको छ कि यी खरिद हुने सवारी साधनहरूले निर्वाचनको शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने र सुरक्षा निकायको कार्यक्षमता बलियो बनाउने छन्।

